रामधुनी । रामधुनी नगरपालिकाले पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न तथा समुदायलाई पशुजन्य जोखिमबाट सुरक्षित राख्न विभिन्न पशु स्वास्थ्य सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ । नगरपालिकाको पशु सेवा शाखाले हरेक वर्ष गाई, भैंसी र बाख्रामा तीन हजारभन्दा बढी पटक कृत्रिम गर्भाधान सेवा दिइरहेको छ ।
पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक दुर्गा प्रसाद पराजुलीका अनुसार कृत्रिम गर्भाधान सेवा अत्यन्तै प्रभावकारी बन्दै गएको छ । शाखाले आर्थिक बर्ष ०८०/०८१ मा मात्रै ३ हजार १ सय ६१ पशुमा कृतिम गर्भाधान गराएको छ । त्यस्तै, अघिल्लो आर्थिक बर्ष ०८१/०८२ मा ३ हजार २ सय पशुलाई कृतिम गर्भाधान गराइएकोमा चालु आर्थिक बर्ष करिब ३ हजार ४ सयबढी पशुमा कृतिम गर्भाधान गराइने पशु सेवा शाखाका प्रमुख शिव कुमार मोचीले बताए ।
त्यस्तै शाखाले बार्षिक करिब एक हजार कुकुरलाई रेविज खोप दिँदै आएको छ । बार्षिक ३० हजार बढी पशुलाई निशुल्क औषधीसमेत शाखाले वितरण गर्ने गरेको पाइएको छ । आर्थिक बर्ष ०८०/०८१ मा ३४ हजार तीन सय २१ पशुलाई औषधी दिएको शाखाले चालु आर्थिक बर्षमा ३६ हजार पशुलाई वितरण गरिने अनुमान गरेको छ ।
त्यसैगरी नगरक्षेत्रका ३ सय ९१ ओटा सामुदायीक कुकुरलाई अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षमा गरेर बन्ध्याकरण गरिएको छ । नगरपालिकाको पशु सेवा अन्तर्गत घरमै पुगेर पशु स्वास्थ्य परामर्श सेवा, विभिन्न पशुमा लाग्ने रोगहरूको निःशुल्क उपचार, घाँस बिउ वितरण, भ्याक्सिनेसन लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । पशु सेवा शाखाले प्रत्येक वर्ष घाँस प्रवद्र्धन कार्यक्रम अन्तर्गत उन्नत जातका घाँसका बिउ वितरण, फार्ममा आवश्यक संरचना निर्माणका लागि प्राविधिक सहयोग र परामर्श पनि दिइरहेको छ । पशु सेवा शाखाका अनुसार यी सेवा विस्तारले नगरभित्र पशुपालन व्यवसाय फस्टाउँदै गएको छ । पशुपालकहरू आत्मनिर्भर बन्न थालेका छन् भने दुध, मासु र दुग्धजन्य उत्पादनमासमेत उल्लेखनीय सुधार आएको छ । पशुजन्य रोग नियन्त्रण र व्यवस्थापनले समुदायको स्वास्थ्यमा समेत सकारात्मक असर परेको छ ।
पशुपालक किसानको जीवनस्तर सुधार र सुरक्षित समुदाय निर्माणका लागि आगामी दिनमा यी सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने नगरपालिकाले जनाएको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)































Discussion about this post