रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले निर्धारित समयमा सूचना नदिएको भन्दै नेकपा (माओवादी केन्द्र) रामधुनी नगर कमिटी दोस्रोपटक निवेदन लिएर नगरपालिका पुगेको छ ।
सूचनाको हक अन्तर्गत नगरपालिकालाई विभिन्न १५ ओटा बिषयमा प्रश्न राख्दै गत चैत्र २७ गते माओवादीले लिखित सूचना माग गरेको थियो । सूचनाको हक सम्बन्धि ऐन अनुसार १५ दिनभित्र सूचना दिनुपर्नेमा नदिएपछि माओवादी पुनः निवेदन लिएर आइतबार नगरपालिका पुगेको नगर अध्यक्ष बलराम चौलागाईँले जानकारी दिए । पार्टी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार सदस्य राजेन्द्र पौडेल, नगर अध्यक्ष चौलागाईँ लगायत माओवादी नेता–कार्यकर्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई भेटेर पुनः निवेदन दिएका हुन् ।
दोस्रोपटकको निवेदनमा ७ दिनभित्र सूचना दिन माग गरिएको छ । निवेदनमा भनिएको छ, ‘सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ बम्मोजिम माग भएको सूचना त्यस कार्यालयको सूचना अधिकारीले उपलब्ध नगराएकाले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ९ को उपदफा ३ बम्मोजिम सूचना अधिकारीलाई कारवाही गरि, सूचनाको हकसम्बन्धि नियमावली २०६५ को नियम ५ ‘क’ को उपनियम २ बम्मोजिम आज मिति २०८१/०१/१६ गतेको ७ दिनभित्र…सूचना उपलब्ध गराउनुहुन अनुरोध छ ।’
नगरले सूचना नदिनु सूचनाको हक, संविधानले नै सुनिश्चित गरेको मौलिक हक, मानवअधिकार तथा लोकतान्त्रिक मुल्य–मान्यताविरुद्ध भएको माओवादीको ठहर छ । नगरपालिकालाई जनउत्तरदायी, पारदर्शी, जवाफदेही, भ्रष्टाचाररहित र जनमुखी बनाउनु आफ्नो लक्ष्य भएको माओवादीको भनाई छ ।
सूचना लुकाउने कार्यले नगरपालिका भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको अनुभूति भएको भन्दै तत्काल सच्चिएर ७ दिनभित्र माग गरिएको सूचनाको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माओवादीले आग्रह गरेको छ ।
यस्तो छ माओवादीले दोस्रोपटक बुझाएको निवेदन
- यो पनि..