सुनसरी । जिल्ला अस्पताल सुनसरीमा पहिलो पटक महिलाको आङ खस्ने रोगको सफल अप्रेसन भएको छ । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालमा स्त्री तथा प्रशुती रोग विशेषज्ञसमेत रहेका अस्पतालका निमित्त कार्यालय प्रमुख डा. अमिताभ ठाकुर नेतृत्वमा डाक्टरहरूको टिमले बुधबार, बिहिबार र शुक्रबार तीन दिनमा ८ जना महिलाहरुको सफल अप्रेसन गरेको अस्पताल प्रशासनले जनाएको छ ।
डा. ठाकुर, डा. कल्पना यादव, असिस्टेन्ट सुस्मा गिरी, सुजता विश्वकर्मा, रोनी ठाकुर, अस्पताल व्यवस्थापन अधिकृत वालकुमारी तामाङ, प्रशासन प्रमुख राजकुमार मेहता लगायत स्वास्थ्यकर्मीहरुको टिमले सफल अप्रेसन सम्पन्न गरेको हो ।
शल्यक्रिया गरिएका महिलाहरुमा भोजपुरको षडानन्द नगरपालिकाका ८ जना महिलाहरु रहेका छन् । जसमा भगवती श्रेष्ठ, कमला दर्जी, सुमित्रा मगर, दिली माया तामाङ, शिव कुमारी थापा, सितादेवी विश्वकर्मा, तारा राई र नरमाया कार्की रहेको निमित्त कार्यालय प्रमुख डा. ठाकुरले जानकारी दिए ।
अस्पतालमा अबदेखि यस्तो प्रकृतिको रोगको शल्यक्रिया नियमित हुने भएकाले स्वास्थ्य सेवा लिन अस्पतालले सबैसमक्ष आग्रह गरेको छ । विगतमा रेफर मात्रै गर्ने अस्पतालको रूपमा चिनिएको जिल्ला अस्पतालले पछिल्लो समय आफ्नो सेवामा सुधार गर्दै लगेको छ । जसकारण विरामीको चाप पनि निकै हुने गरेको छ ।