रामधुनी । पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान २०८१ मा सुनसरीको रामधुनी नगरपालिकाका किशोरीहरुले उत्साहजनक सहभागीता जनाएको पाइएको छ ।
राष्ट्रिय खोप अभियानअन्तर्गत रामधुनीका कम्तिमा २ हजार ९२३ छात्रालाई एचपिभी खोप लगाउँने नगरपालिकाको तयारी थियो । त्यसमध्ये २ हजार ७६१ किशोरीले लगाएको नगर स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले हाम्रोशब्दलाई जानकारी दिए ।
कक्षा ६ देखि १० सम्म अध्यनरत र विद्यालय नजाने १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई लक्षित गरेर नेपाल सरकारले खोप अभियान सञ्चालन गरेको हो ।
रामधुनीमा ३५ ओटा विद्यालय र ९ ओटा स्वास्थ्य केन्द्रहरु गरेर जम्मा ४४ ओटा खोप केन्द्रमार्फत गत माघ २३ गतेदेखि ३० गतेसम्म किशोरीहरुलाई खोप दिइएको थियो ।